Total Pageviews

पाथिभारा माताले सबैकाे कल्याण गरुन । ॐ


पाथीभरा ( ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा पर्वतको शीखर नजीक अवस्थीत एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाइ पाथीभरा देवी भनिएको हो । परापुर्वाकालमा गाइ चराउँने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ती उपासकहरुका लागि बिशेष ठाउँ हो । 

यहाँ अझै मन्दीरको भवन बनेको छैन र देवी स्थानको रुपमै यो तीर्थ रहेको छ । पाथीभरा देवी स्थान नजीकै २०७७ सालमा कीराँत मन्दिर भने बनेको छ जस्को प्राङ्गणमा गुरु फाल्गुनन्दको शालिक राखिएको छ । तत्पश्चात पाथीभरा क्षेत्र लिम्बु जातिको पनि सामुदायीक आराध्या स्थल बन्न पुगेको छ । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । 

विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । [१] यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम "पाथीभरा देवी" भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। 


ताप्लेजुङ्गका लिम्बू समुदायहरू पाथीभरा पहाडलाई " मुकुम्लुङ " भनेर चिन्दछन । लिम्बू भाषामा "मुकुुम"को अर्थ शक्ति वा बल, "लुङ"को अर्थ ढुंगा भन्ने जनाउँदछ। अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा प्रकट गर्ने गर्दछन ।

पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढङ्गले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । 


त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवी ले दर्शन दिनु भयो भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको बलि दिए । 

बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे ।[१] त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । 

यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । 

यसैकारण पनि रक्तकाली लाई भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज यी देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीको दर्शन गर्नुक्क निम्ति आउने क्रम जारी छ ।

Previous Post Next Post

نموذج الاتصال